काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच मंगलबार राति सम्पन्न वार्ता सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ भएको वार्ता फलदायी रहेको जानकारी सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले दिए। उनका अनुसार दुवै पक्षले आ–आफ्ना धारणा सौहार्दपूर्ण ढङ्गले राखेका छन् र आन्तरिक गृहकार्य गर्दै वार्ता तथा संवादलाई निरन्तरता दिने प्रारम्भिक समझदारी बनेको छ।
“सरकार र नागरिक बचाउ महाअभियानबीच सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ। आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र उठाइएका विषय क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको छ,” मन्त्री खरेलले भने ।
महाअभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले पनि वार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको बताए। उनका अनुसार आन्तरिक गृहकार्य गरी चरणबद्ध वार्ता तथा संवादका माध्यमबाट महाअभियानले उठाएका माग समाधान गर्दै अघि बढ्ने सहमति भएको छ।
वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए। महाअभियानका तर्फबाट लिम्बूको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका थिए ।
वार्ताको निष्कर्षपछि महाअभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ।
सरकारले राजनीतिक वातावरण सहज बनाई निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न पक्षसँग वार्ता र संवादलाई तीव्र बनाएको छ। यसै सन्दर्भमा केही दिनअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो, जसमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। सोही समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा गठन गरिएको समितिले महाअभियानका प्रतिनिधिसँग वार्ता गरेको हो।