काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नगरी फारम जिल्ला–जिल्ला पठाएको विषय र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवासँग भेट गर्नुभएको हो ।
भेटका क्रममा नेता कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले क्रमसंख्या नभएका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशव्यापी रूपमा जटिल समस्या सिर्जना गरेको कुरा सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
कोइरालाले ती क्रमसंख्या नखुलेका फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवासँग आग्रह गर्नुभएको छ । उहाँले बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु गर्न नसकिने तर्क प्रस्तुत गर्नुभयो ।
यस्तै, अनुशासन कारबाहीका सन्दर्भमा पनि कोइरालाले सभापति देउवासँग सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आगामी आम निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुपर्ने धारणा राख्नुभएको छ ।
२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका निर्णयलाई आधार बनाएर हाल कारबाही गर्नु उपयुक्त नहुने कोइरालाको भनाइ रहेको छ ।