शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार पठाइने

मंगलबार, पुष १ २०८२

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न लागेका दुई वटा हात्ती भैरहवा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षे रुद्रकली र छ वर्षे खगेन्द्रप्रसाद आज बिहान ४ बजे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिक भैरहवा आइपुगेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार हाल ती हात्तीलाई विमानस्थल नजिकैको खाली जग्गामा अस्थायी रूपमा राखिएको छ । सोमबार सौराहाबाट औपचारिक बिदाइ गरिएका ती हात्ती विशेष रूपमा तयार गरिएको खोरसहित ट्रकमार्फत भैरहवा पठाइएको हो ।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव तथा राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामै कतारी दूतावासलाई ती हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरणपछि कार्गो विमानमार्फत ती हात्ती कतार पठाइनेछ ।

रुद्रकली पोथी हात्ती पूजाकलीको बच्चा हो भने खगेन्द्रप्रसाद कोशी कलीको सन्तान हो । दुवै हात्तीका बाबु जङ्गली भाले हात्ती रोनाल्डो रहेको निकुञ्जले जनाएको छ । खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरू जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे र गोविन्दे जस्ता शक्तिशाली हात्तीको सहवासबाट गर्भवती हुने गरेका छन् ।

सरकारले कतारलाई हात्ती उपहार दिने निर्णय गरेपछि आवश्यक सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो । यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको भए पनि हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागेको यो पहिलो पटक हो ।

नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्न र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले वन्यजन्तु उपहार प्रदान गरिँदै आएको छ ।