उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीद्वारा ओली नेतृत्वको टिमलाई विजयी बनाउन अपिल
काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) आगामी पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । नवौँ र दसौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भइसकेका ओली तेस्रोपटक अध्यक्ष बन्ने प्रयासमा रहँदा पोखरेलले उनलाई चुनौती दिने भएका छन् ।
ओली प्यानलबाट पाँच उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् । महासचिव पदमा वर्तमान महासचिव शंकर पोखरेल दोहोरिने मनसायमा छन् । तीन उपमहासचिव पदका लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार रहेका छन् । यस्तै, नौ सचिव पदमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन् । उनको प्यानलबाट उपाध्यक्ष पदमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट र अरुण नेपाल उम्मेदवार रहेका छन् । साथै, रघुजी पन्त र टंक कार्कीको पनि उपाध्यक्षमा उम्मेदवारी परेको छ । महासचिव पदमा सुरेन्द्र पाण्डे उम्मेदवार छन् । उपमहासचिव पदमा योगेश भट्टराई र वैजनाथ चौधरी उम्मेदवार रहेका छन् । सचिव पदका लागि गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ पोखरेल प्यानलबाट मैदानमा उत्रिएका छन् ।
महाधिवेशनमा सहभागी २ हजार २ सय ६३ प्रतिनिधिले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछन् ।
ओली समूहमा टिम निर्माणलाई लिएर असन्तुष्टि
महाधिवेशनमा अध्यक्ष ओली समूहभित्र टिम निर्माणको विषयलाई लिएर चर्को असन्तुष्टि देखिएको छ । ओलीका समर्थक मानिने राजेन्द्र गौतम र कृष्णगोपाल श्रेष्ठ ओली प्यानलबाट बाहिरिनुभएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकट नपाएपछि उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । महासचिवका दाबेदार पृथ्वीसुब्बा गुरुङ टिकट नपाएपछि असन्तुष्ट देखिएका छन् ।
ओली निकट युवा नेता रामकुमारी झाँक्री र सूर्य थापा पदाधिकारी टिममा समेटिन सकेनन् । यसैगरी, सचिवमा दाबेदारी प्रस्तुत गरेका कृष्णगोपाल श्रेष्ठ टिकट नपाएपछि ईश्वर पोखरेल समूहमा खुलेर उत्रिएका छद्द् । श्रेष्ठ १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य निर्वाचित भएका थिए ।
प्रदीप ज्ञवालीद्वारा उपाध्यक्ष पद अस्वीकार
एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गरेका छन् । अध्यक्ष ओली प्यानलबाट उपाध्यक्षमा प्रस्ताव गरिए पनि ज्ञवालीले उम्मेदवारी नदिई केन्द्रीय सदस्य पदमा मात्र प्रतिस्पर्धा गर्ने निर्णय लिएका छद्द् ।
महासचिव पदका दाबेदार ज्ञवालीलाई उपाध्यक्षमा ‘एडजस्ट’ गर्न खोजिएको भन्दै उनी असन्तुष्ट देखिएका हुन् । यसबारे प्रतिक्रिया दिँदै ज्ञवालीले एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी समेत गरेका छन् ।
ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिमलाई विजयी बनाउन अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेसा कमरेडहरूकै बीचमा छु, त्यहीँ रहन्छु । यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुवै पाउने विश्वास लिएको छु ।’
८० विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
महाधिवेशनमा नेतृत्व चयनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि तीमध्ये ८० वटा मतदान प्रयोजनका लागि प्रयोग गरिनेछ । बाँकी मेसिन अभ्यास तथा आकस्मिक प्रयोजनका लागि राखिएको उनले जानकारी दिए।
उनका अनुसार एक जना प्रतिनिधिले मतदान गर्न औसतमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।
विद्युतीय भोटिङ मेसिन आपूर्ति गर्ने रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार १० वटा मेसिन नमूना अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिन जगेडाका रूपमा राखिएको छ ।