शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह

सोमबार, मंसिर २९ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च कटौती गर्दै पुँजीगत खर्चलाई प्राथमिकतामा राखेर वृद्धि गर्ने नीति अपनाएको बताए।

महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे उनले कार्यक्रममार्फत महानगरको कार्यसम्पादन र प्रगतिबारे जानकारी दिए।

प्रमुख शाहका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत हालसम्म ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ। त्यस्तै ६२ वटा चोकमा हाईमास्ट लाइट जडान गरिएको छ भने पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ। गत आर्थिक वर्षमा करिब रु दुई अर्ब ८६ करोड बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन्।

उनका अनुसार करिब रु ९१ करोडको लागतमा सम्पदा संरक्षणका काम सम्पन्न हुँदै २७६ मूर्त सम्पदा आयोजना र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएको छ। साथै महानगरले हालसम्म करिब रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिसकेको छ। आगामी दिनमा करिब रु दुई खर्ब मूल्य बराबरको एक हजार ८५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य रहेको प्रमुख शाहले बताए।

स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग गर्दै रैथाने सीपलाई आयआर्जनसँग जोड्न ‘एक वडा–एक कार्यक्रम’ सञ्चालनमा रहेको जानकारी पनि उनले भने।

प्रमुख शाहले आर्थिक, सामाजिक तथा पूर्वाधार विकास, सुशासन र प्रशासनिक सुधार महानगरका नियमित कार्यक्षेत्र भएको उल्लेख गरे। प्राकृतिक तथा मानव–निर्मित सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत सहरको सांस्कृतिक पहिचान जोगाउने, सहरी स्वच्छता र सरसफाइ विस्तार गर्ने तथा एकीकृत पूर्वाधार विकासमार्फत सेवा प्रवाहलाई सहज र चुस्त बनाउने महानगरको दायित्व रहेको उनको भनाइ थियो।

महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको जनाएको छ। स्वास्थ्य क्षेत्रतर्फ एक हजार ८६ विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनालाई निःशुल्क उपचार गरिएको तथा ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको प्रमुख शाहले जानकारी दिए।