काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश विकासका लागि नवीन सोच, योजना र त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
३१औँ महानगर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनताले सुम्पेको जिम्मेवारी अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले भने, “इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्न गर्ने दायित्व हाम्रो काँधमा छ। यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ।”
उनले राजनीतिलाई व्यवसाय नभई समाजसेवाको उत्कृष्ट माध्यमका रूपमा लिने दृष्टिकोण सबैमा जागृत हुन आवश्यक रहेको र नेपाली जनताले यही अपेक्षा राखेको उल्लेख गरे। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माण अभियानमा सहभागी हुन सबैमा अपिल गरे ।
राष्ट्रपतिले काठमाडौँ महानगरपालिकाले देखाएको नविनता र सक्रियता प्रशंसनीय भएको उल्लेख गर्दै सहरी व्यवस्थापन, प्राकृतिक सम्पदा संरक्षण, मठमन्दिर, ताल, पोखरी र भौतिक सम्पदाको पुनःस्थापना, विद्युतीय शासनमार्फत पारदर्शी सेवा प्रणाली, एकल सेवा केन्द्र र गुनासो व्यवस्थापन प्रणाली सञ्चालन जस्ता कार्यलाई नागरिकमैत्री र उत्तरदायी पहलको उदाहरण ठहराए ।
उनले काठमाडौँ महानगरपालिकाले बनाएका नीति, कार्यक्रम र योजना अन्य पालिकाका लागि उदाहरणीय हुने विश्वास व्यक्त गर्दै सङ्घ र प्रदेश सरकारलगायत सबै निकायको सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सहभागिता जनाएका थिए। यस अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभएको थियो भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार प्रदान गरेका थिए ।