काठमाडौं । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाका लागि उम्मेदवारी फाराम वितरण सुरु भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन्। केन्द्रीय नेतृत्वका लागि आकांक्षीहरूको संख्या धेरै भएपछि छापेर लगिएका उम्मेदवारी फाराम सकिँदा भृकुटीमण्डपमा लाइनसमेत लामो भएको छ।
३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २ हजार २६३ जना प्रतिनिधि भृकुटीमण्डपमा सहभागी छन्। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी भोलि मतदान गरिने कार्यतालिका तय गरिएको छ।
आयोगका अनुसार बिहान १२ बजेसम्म उम्मेदवारी फाराम वितरण हुनेछ। दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने सोही समयदेखि आधा घण्टासम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ।