शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

म्याद गुज्रिएका औषधिकाे क्षतिपूर्ती नदिने कम्पनीको औषधि खरिद रोक्का

आइतबार, मंसिर २८ २०८२

विराटनगर । नेपाल औषधि व्यवसायी संघको कोशी प्रदेश कार्यालयले म्याद गुज्रिएका औषधिकाे क्षतिपूर्ती नदिने कम्पनीको औषधि खरिद रोक्का गरिएको घोषणा गरेको छ।

संघको कोशी प्रदेश कार्यालयले मिति २०८२/०८/२४ मा Allergan कम्पनीको आयातकर्ता “प्रिया ट्रेडिङ प्रा. लि.” लाई पत्र पठाएर म्याद गुज्रिएका औषधिहरूको क्षतिपूर्ति फिर्ता गर्ने वा भर्ना गर्ने निर्देशन दिएको थियो। तर, कम्पनीको जवाफ चित्तबुझ्दो, नियमसंगत र व्यवसायी मैत्री नभएको भन्दै संघले मिति २०८२/०८/२८ देखि समस्या समाधान नभएसम्म प्रदेशभर Allergan कम्पनीको औषधि खरिद रोक्का गरिएको जनाएको छ।

यस सम्बन्धमा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष धनबहादुर काफ्ले र महासचिव लक्ष्मण माझी (चौधरी) ले औषधिको सदुपयोग गर्न र प्रतिकुल असर हुनबाट बच्न व्यवसायी तथा प्रयोगकर्ताहरूलाई सचेत गराएका छन्।

पत्रमा जानकारीका लागि केन्द्रिय कार्यालय, सम्पूर्ण प्रदेश कार्यालय र जिल्ला शाखाहरू साथै प्रिया ट्रेडिङ प्रा. लि.लाई पठाइएको छ।

नेपाल औषधि व्यवसायीको विधानमा होलसेलर (थोक विक्रेता) ले खुद्रा व्यवसायीलाई आपूर्ति गरेको औषधि म्याद गुज्रिएमा, १८ महिनासम्मको अवधिभित्र सो औषधिको सोधभर्ना अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, आयातकर्ता तथा थोक विक्रेताले आपूर्ति गरेको औषधिको हकमा २१ महिनासम्मको अवधिभित्र सोधभर्ना गर्नुपर्ने विधानमा स्पष्ट उल्लेख गरिएको छ । त्यस्तै, २१ महिना सम्मको क्षतिपूर्तिको सोधभर्ना आयातकर्ता वा कम्पनीले थोक ब्यबसायीलाइ अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

संघले कोशी प्रदेशका सम्पूर्ण आधिकारिक थोक बिक्रेता र अस्पताल फार्मेसीहरूलाई अर्को सूचना नआएसम्म साे कम्पनीका औषधि खरिद नगर्न निर्देशन दिएको छ ।

यो व्यवस्था खुद्रा व्यवसायीलाई अनावश्यक आर्थिक क्षतिबाट जोगाउने, औषधि आपूर्ति प्रणालीलाई जिम्मेवार बनाउने तथा व्यवसायमा पारदर्शिता र विश्वास कायम राख्ने उद्देश्यले गरिएको हो।