शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ। १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो।

११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भइसकेको र बन्द सत्र सुरू हुन लागिरहेको अवस्थामा एमालेले केन्द्रीय कमिटी बैठक आयोजना गरेको हो। बैठकमा पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव ल्याउने तयारी गरेको नेताहरूको भनाइ छ। प्रस्तावअनुसार पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी संख्या ३०१ पुर्‍याउने तयारी रहेको बताइएको छ।

तर, यस्तो प्रस्ताव आएमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट नेताहरूले प्रतिवाद गर्ने तयारी गरेका छन्। उनीहरूले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट तय गरिएको पदाधिकारी तथा केन्द्रीय कमिटीको आकार यथावत् राख्नुपर्ने अडान लिँदै आएका छन्।

गत शुक्रबार बसेको सचिवालय बैठकमा पनि यस विषयमा छलफल भएको थियो। उक्त बैठकमा अधिकांश नेताहरूले विधान महाधिवेशनले तोकेको संरचना परिवर्तन नगर्न सुझाव दिएका थिए।

नेताहरूको व्यवस्थापन सहज बनाउन भन्दै अध्यक्ष ओलीले संरचना विस्तारको प्रस्ताव अघि बढाउन लागेको बताइएको छ।