शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लोकसंस्कृति जगेर्नाका लागि ‘थारू कला प्रदर्शनी घर’

आइतबार, मंसिर २८ २०८२

कैलाली । सुदूरपश्चिममा उत्सवकै रूपमा स्थापित ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुँदै आएको महोत्सवले प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापार विकाससँगै संस्कृति तथा कलाको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ ।

महोत्सवस्थलमै थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा र परम्परालाई झल्काउने ‘थारू कला प्रदर्शनी घर’ सञ्चालनमा ल्याइएको छ । प्रदर्शनी घरमा थारू समुदायले प्रयोग गर्ने परम्परागत पहिरन, खेतीपातीका सामग्री, दैनिक जीवनमा प्रयोग हुने औजार तथा विभिन्न कलात्मक चित्रहरू राखिएका छन् ।

प्रदर्शनी घर परिसरमा थारू समुदायका परम्परागत खानाका परिकार समेटिएका ३० वटा व्यापारिक कक्ष पनि सञ्चालनमा छन् । ती कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा, परेवा, मुसा, बङ्गुर, गङ्गटा लगायतका मासुजन्य परिकार बिक्रीका लागि राखिएका छन्, जुन थारू समुदायको परम्परागत खानपानसँग जोडिएका छन् ।

यसका साथै प्रदर्शनी घरमा थारू संस्कृतिसँग सम्बन्धित विभिन्न लोकगीत तथा नाचगान प्रस्तुत गरिँदै आएको छ । अवलोकनका लागि आउने दर्शकहरूले थारू लोकसङ्गीत सुन्ने र नाचगानमा रमाउने अवसर पाएका छन् ।

प्रदर्शनी घरका सञ्चालक बलीचरण चौधरीका अनुसार पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति र खानपानको जगेर्ना गर्ने उद्देश्यले यो प्रदर्शनी घर सञ्चालनमा ल्याइएको हो । उनले प्रत्येक वर्ष महोत्सवस्थलमा यस्ता प्रदर्शनी घर राख्दै आएका छन् ।

चौधरीका अनुसार प्रदर्शनी घर सञ्चालनका लागि करिब १० लाख रुपैयाँ लगानी गरिएको छ भने महोत्सव अवधिमा करिब १५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

“यहाँ मात्र नभई देशका विभिन्न ठाउँमा आयोजना हुने मेला–महोत्सवमा पनि थारू सङ्ग्रहालय तथा थारू कला प्रदर्शनी घर सञ्चालन गर्दै आएको छु,” उनले भने, “यसले आम्दानीसँगै आफ्नो समुदायको लोकसंस्कृति, खानपान र रहनसहनको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ।”