शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन भव्य र सभ्य

सुरक्षाका दृष्टिले समेत उच्च सतर्कता

आइतबार, मंसिर २८ २०८२

काठमाडौं  । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।

भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन स्थलमा शनिबार आयोजित उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले एमालेको वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य, राष्ट्रिय स्वाधीनता र विकास–समृद्धिको यात्रामा पार्टी दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।

उद्घाटन कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, पूर्व तथा वर्तमान पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य र नागरिक समाजका व्यक्तित्वहरूको सहभागिता थियो। सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको समारोह शान्त, अनुशासित र व्यवस्थित ढंगले सञ्चालन गरिएको थियो।

महाधिवेशन अवधिभर राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र भावी कार्ययोजनामाथि छलफल हुने जनाइएको छ। साथै नेतृत्व चयन प्रक्रिया पनि विधानअनुसार अघि बढ्नेछ। सुरक्षाका दृष्टिले समेत उच्च सतर्कता अपनाइएको आयोजकले जनाएको छ।

एमालेले यो महाधिवेशनलाई पार्टी एकता सुदृढ गर्ने र आगामी निर्वाचन तथा राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने अवसरका रूपमा लिएको छ।

एमालेले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता प्रमुख राष्ट्रिय धरोहर जलाउने घटनामा संलग्न व्यक्तिहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने उद्घोष गरेको छ ।  पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा एमालेले भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै कडा चेतावनी दिएको हो ।

अध्यक्ष ओलीले सल्लाघारी चौरमा रिमोटमार्फत झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए । झण्डोत्तोलनपछि देखाइएको भिडियोमा ‘जेन–जी’ आन्दोलनका क्रममा जलेका तथा क्षतिग्रस्त सरकारी संरचनाहरू देखाउँदै एमालेले ती घटनाहरू कहिल्यै नबिर्सने सन्देश दिएको थियो । भिडियोमा “जलेको हाम्रो न्यायको मन्दिर, बलेको हाम्रो संसद् भवन, खरानी बनाइएको सिंहदरबार” स्मरण गराउँदै दोषीहरूलाई नबिर्सने उद्घोष गरिएको थियो ।

हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान गएको दाबी

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३ गते ‘जेन–जी’ आन्दोलनका क्रममा हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान गएको जिकिर गरे । उनले युवा विद्यार्थीलाई अगाडि सारेर संसद् भवनमा आगजनी गरिएको टिप्पणी गर्दै सामाजिक सञ्जाल बन्द होइन, नियमन मात्र सरकारको चाहना रहेको स्पष्ट पार्नुभयो । शान्तिपूर्ण आन्दोलनमा घुसपैठका कारण दुःखद अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार गर्न नसकिने स्पष्ट पार्दै वर्तमान सरकारप्रति कडा टिप्पणी गरे । उनले हिंसालाई परिवर्तनको साधन मान्न नसकिने भन्दै शान्तिपूर्ण बाटोबाटै समाज परिवर्तन सम्भव रहेको धारणा राखे । विविधता र बहुलतालाई राष्ट्रिय सम्पदा बताउँदै संविधान संशोधन गर्ने अधिकार जनताबाट निर्वाचित शक्तिसँग मात्रै हुनुपर्ने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले लोकतन्त्र अजेय र नेकपा एमाले अजम्बरी रहेको दाबी गरे । पछिल्लो समय एमालेको सान्दर्भिकता समाप्त भएको भाष्य निर्माण गर्ने प्रयास भए पनि जनसागरको उपस्थितिले त्यो असफल भएको उनको भनाइ थियो । महाधिवेशनमा देखिएको उपस्थिति पार्टीको निर्णायक राष्ट्रिय शक्तिका रूपमा उदय भएको प्रमाण भएको दाबीसमेत उनले गरे ।

‘जेन–जी’ सम्झौताप्रति असन्तुष्टि

सरकारले ‘जेन–जी’सँग गरेको सम्झौता देशलाई गम्भीर भिडन्ततर्फ लैजाने षड्यन्त्र भएको आरोप अध्यक्ष ओलीले लगाए। एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम भइरहेको भन्दै उनले सरकारको गतिविधिलाई नाटकको संज्ञा दिए। प्रतिनिधिसभा पुनःस्थापना एमालेको स्पष्ट अडान रहेको उहाँले दोहोर्‍याए ।

महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई लिएर एमाले नेतृत्वविरुद्ध संगठित र सुनियोजित प्रहार गरिएको आरोप लगाए । उनले षड्यन्त्रका बाबजुद एमाले जनताको मनमा गहिरो रूपमा बसेको र खरानीको थुप्रोबाट फेरि उठ्ने दाबी गरे। उपमहासचिव प्रदीप ज्ञवालीले भने भदौ २४ पछि मुलुकमा विधिको शासनभन्दा अराजकता हाबी भएको टिप्पणी गरे ।

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने अन्य राजनीतिक दलहरूले पनि ‘जेन–जी’ आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए । नेपाली कांग्रेसदेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलगायत दलहरूले सरकारको कार्यशैलीप्रति आलोचना गरेका थिए ।