काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारका बाबजुद एमालेको पक्षमा जनलहर उर्लिएको दाबी गरे । उनले एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक निर्माणको लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै सुशासन र विकास चाहने सबै शक्तिको साथ पार्टीलाई प्राप्त भएको बताए ।
अध्यक्ष ओलीले लोकतन्त्र र एमाले दुवै अजेय रहेको उल्लेख गर्दै लोकतन्त्र र जनताको हितमा समर्पित एमालेजस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु आवश्यक रहेको धारणा राखे । “सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ,” उनले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो र नागरिकको जीवनको आधार यही शक्ति हो ।”
एमाले समावेशिताको अग्रणी शक्ति भएको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा सबै क्षेत्र र समुदायको समावेशीतालाई एमालेले संस्थागत गरेको बताए। नेपाली विशेषतासहितको समाजवाद निर्माणमा एमाले सक्रिय रहेको र गाउँमुखी, जनसहभागितामूलक विकाससँगै ठूला विकास योजनाको नेतृत्व पनि एमालेले गरेको उनको भनाइ थियो ।
महाधिवेशनमा देखिएको विशाल जनसहभागितालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताए ।
उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाउने प्रयास भएको भए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको आधारमा लोकतन्त्रलाई पुनः सुदृढ गरिने विश्वास व्यक्त गरे । साथै, उनले वर्तमान सरकार निर्वाचनको वातावरण निर्माणभन्दा पनि पूर्वाग्रही र संविधानविपरीतका गतिविधिमा केन्द्रित भएको आरोप लगाए ।