काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीच भएको सहमतिको स्वागत गर्दै उपलब्धिले मुलुकलाई सुशासन र स्थिरतामा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
विभिन्न आन्दोलन र दबाबका बीचमा हासिल भएको सहमति महत्त्वपूर्ण रहेकाे बताउँदै उनले यसलाई सबैले अपनत्वका साथ कार्यान्वयन गर्नु समयको माग रहेको उल्लेख गरे।
महामन्त्री शर्माका अनुसार जेनजी आन्दोलनले स्थापित गरेको “सुशासनको संकल्प र अठोट” अब सबै राजनीतिक दल तथा राज्य संयन्त्रको साझा कर्तव्य बन्नुपर्छ। लोकतन्त्रका मुख्य सारथि राजनीतिक दल भएकाले सहमति हस्ताक्षर प्रक्रियामा दलहरूलाई पर्याप्त अपनत्व र स्वामित्व दिन सरकारले प्रयास गर्नुपर्ने उनको टिप्पणी थियो।
शर्माले सहमतिको प्रारम्भिक कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउँदै भदौ २३ को बल प्रयोग तथा २४ गतेका घटनामा भएको ध्वंससम्बन्धी छानबिन र कारबाही निष्पक्ष, गहिरो र बिना मोलाहिजा हुनु जरुरी रहेको बताए।
आगामी फागुन २१ गते तोकिएको निर्वाचन मिति बाधक नबन्नुपर्ने उनको भनाइ छ। “हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौं,” उनले भने, “तर मुल प्रश्न समाधान र संविधान हो। जेनजी समूहलाई पूर्ण अपनत्वमा बाँध्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउन आवश्यक परे निर्वाचन बैशाखमा सारिनुलाई स्वाभाविक रूपमा लिनुपर्छ।”
उनले सहमति र सहकार्यबाट मुलुकको आगामी यात्रा सहज बनाउनु सबैको साझा दायित्व रहेको उल्लेख गरे।