धादिङ । दैनिक पाँच घण्टा आंशिक बन्द गर्दै स्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) खुला राखिने भएको छ। नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई मध्यनजर गर्दै दुई दिनका लागि सडकमा आवतजावत रोक्ने निर्णय नगर्ने भएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मंसिर २४ गतेदेखि पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म दैनिक पाँच घण्टा आंशिक रूपमा सडक बन्द गरी काम गर्दै आएको थियो। तर, महाधिवेशनका दिनमा सवारी चाप बढ्ने र सम्भावित जाम हुन सक्ने भएकाले अस्थायी रूपमा बन्द हटाइएको पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए।
उनका अनुसार, “स्तरोन्नतिको कामलाई तीव्रता दिने लक्ष्यसहित केही दिनदेखि सडक बन्द गरिरहेका थियौँ। तर एमालेलाई महाधिवेशनका बेला सहज यात्रा सुनिश्चित गर्न आज र भोलि बन्द नगर्ने निर्णय गरेका छौँ।”
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशन अवधिका लागि सडक खुला गरिदिन अनुरोध गरेपछि यो व्यवस्था मिलाइएको हो।
सडक विभागका अनुसार काठमाडौँमा पर्ने नागढुङ्गा–पिप्लामोड खण्डमा कालोपत्र गर्ने कार्य उच्च प्राथमिकतामा छ भने धादिङको नौबिसे–मलेखु खण्डमा बाङ्गेभीर क्षेत्रको सडक चौडा गर्ने कामलाई विशेष ध्यानसहित अघि बढाइएको छ।