काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गर्दै भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट गैरकानुनी रूपमा रकम असुलेको आरोपमा उनीहरूलाई प्रतिवादी बनाएको हो।
गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट पक्राउ परेका भट्टराई त्यतिबेला कार्यालयका प्रमुख थिए। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार घुस–रिसवतसम्बन्धी मुद्दामा सात व्यक्ति र दुई कम्पनीलाई समावेश गर्दै आरोपपत्र दायर गरिएको छ।
अभियोगपत्रअनुसार तत्कालीन सहसचिव भट्टराई, अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेजका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेजका सञ्चालक दीपक भण्डारी, ग्रिनलाइनका सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ। साथै, दुई ट्राभल कम्पनीलाई पनि मुद्दामा समावेश गरिएको छ।
विशेष अदालतमा दायर बिगो दाबीअनुसार भट्टराईसँग ७९ लाख ८० हजार, अधिकृत अर्यालसँग आठ लाख, बालकृष्ण खड्का र राम खड्कासँग जनही ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार, दीपक भण्डारीसँग १० लाख ६० हजार र खेम सुवेदीसँग ७९ हजार ८० रुपैयाँ असुल्ने माग गरिएको छ।
यो प्रकरणले अध्यागमन प्रणालीभित्रको अनियमितता र भ्रष्टाचारबारे फेरि गम्भीर प्रश्न उठाएको छ।