शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

“सुदन गुरुङ मेरो जेठो छोरो” : प्रधानमन्त्री कार्की

बिहिबार, मंसिर २५ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई ‘जेठो छोरो’ भनेर सम्बोधन गरेकी छन्। सिंहदरबारमा बुधबार साँझ सरकार र जेनजी प्रतिनिधिबीच भएको औपचारिक सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले गुरुङसहित आन्दोलनमा सक्रिय सबै युवाप्रति आभार व्यक्त गरिन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजीका बाबु–छोराछोरी दिनरात खटिनुभयो। म सबैलाई धन्यवाद दिन चाहन्छु। हाम्रो सुदन गुरुङ, मेरो जेठो छोरो, उसलाई पनि धन्यवाद दिन्छु।” उनले गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) र उपस्थित मन्त्रीहरूलाई पनि व्यक्तिगत रूपमा धन्यवाद ज्ञापन गरिन्।

सम्झौताअनुसार भदौ २३ र २४ गतेको जनआन्दोलनमा सहभागी भएकै कारण कुनै पनि व्यक्तिलाई फौजदारी अनुसन्धान वा अभियोजन नगरिने व्यवस्था गरिएको छ। आन्दोलनको तीन महिनापछि सरकारले गरेको यो सहमतिमा राजनीतिक, संरचनात्मक र कानुनी सुधारका महत्वपूर्ण बुँदाहरू समावेश छन्।

सम्झौतामा राजनीतिक दलसम्बन्धी कानुनमा पार्टी अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालसम्म सीमित गरिने प्रावधान मिलाइने उल्लेख छ। त्यस्तै, जनआन्दोलनका घटनाबारे निष्पक्ष छानबिन गरी गैरन्यायिक हत्या, हिंसा र मानवअधिकार उल्लङ्घनमा संलग्न व्यक्तिहरू पहिचान गरी फौजदारी जवाफदेहिता सुनिश्चित गर्ने सहमति पनि भएको छ।