शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भ्रष्टाचार मानव अधिकारको सबैभन्दा ठूलो चुनौती : प्रधानमन्त्री कार्की

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्म कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय मानवअधिकार आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार केवल आर्थिक अनियमितता मात्र नभई विपन्न, अशक्त र अवसरवञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानवअधिकार उल्लंघन भएको बताइन्।

उहाँले भनिन्, “पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन। यस दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको छ।”

प्रधानमन्त्री कार्कीले संक्रमणकालीन न्यायको बाँकी काम ढिला भएको भएपनि हालैको कानुन र सहमतिका आधारमा यसलाई पीडितमैत्री र विश्वसनीय निष्कर्षसम्म पुर्‍याउने सम्बन्धित संयन्त्र सफल हुने विश्वास व्यक्त गरिन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे पनि कार्कीले सरकारलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै, समयमै निर्वाचन पूरा गर्न सबै पक्षको सहयोग र सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सुनिश्चित गर्न अपिल गरिन्।

उहाँले राष्ट्रिय मानवअधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको र आयोगलाई प्रभावकारी काम गर्ने वातावरण उपलब्ध गराइने पनि स्पष्ट पारीन्।

अध्यक्ष तपबहादुर मगरले आयोगका सुझाव अनुसार विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चितता, र आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुरक्षा प्रवन्धमा सरकारको ध्यान आवश्यक रहेको बताए।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा डिसेम्बर १० तारिख प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ। घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा वा जन्मका आधारमा सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको छ।