काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा)का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतको आदेशपछि पुनर्वहाली भएका छन्।
अदालतले शाक्यको सरुवा बदर गर्दै प्राधिकरणमै फर्काएर कामकाज गर्न अनुमति दिएपछि उनले आज आधिकारिक रूपमा पदबहाली गरेका हुन् ।
सर्वोच्चले शाक्यलाई प्राधिकरणमै हाजिर भई कार्यकारी निर्देशकका रूपमा काम गर्न दिन स्पष्ट आदेश दिएको थियो।
कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो। शाक्यको स्थानमा मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाइएको थियो। सो निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए।
अदालतले शाक्यलाई प्राधिकरणबाट हटाई ऊर्जा आयोगमा पठाउँदा आवश्यक स्वीकृति नलिएर निर्णय गरिएको ठहर गर्दै सरुवा बदर गरेको हो।