काठमाडौँ । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आजदेखि पुस १ गतेसम्म दैनिक पाँच घन्टाका लागि बन्द हुने भएको छ। नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड भाग अत्यधिक साँघुरो भएकाले कालोपत्र कार्य प्रभावकारी ढंगले सम्पन्न गर्न केही समय सवारी आवागमन पूरै रोक्नुपर्ने भएको हो।
आजदेखि पुस १ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म उक्त सडकमा सवारी आवागमन बन्द रहनेछ। यस अवधिमा यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
अत्यावश्यक सेवाका सवारी—एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल तथा शववाहन—लाई भने ट्राफिक प्रहरीको सहजीकरणमा आवागमन गराइनेछ।
काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।
नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएक छ ।
यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रुपमा प्रयोग सक्ने जानकारी दिएको छ ।