काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ। पहिलो चरणमा कूल २,२०९ विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको छ, जसमा १७ देशका १९६ विदेशी विद्यार्थी पनि छन्।
समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत उच्च अधिकारीहरूको उपस्थितिमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य प्रदान गर्नेछन्। समारोहसम्बन्धी जानकारी उपकुलपति प्रा. डा. अच्युत वाग्लेले दिए।
यस चरणमा स्कुल अफ आर्ट्सका ८३, स्कुल अफ एजुकेशनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल २,२०९ विद्यार्थी दीक्षित हुनेछन्। दीक्षितमध्ये ७ जना विद्यावारिधी, डीएम र एमसिएच तहका, ३९७ स्नातकोत्तर, ५० पिजीडी र १,७२८ स्नातक तहका विद्यार्थी छन्।
यसअघि जस्तै यसपटक पनि विदेशी विद्यार्थीको उल्लेख्य सहभागिता रहेको छ। अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, अमेरिका र भियतनामका १९६ विद्यार्थी दीक्षित हुनेछन्। समारोहमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदक पनि प्रदान गरिनेछ।
३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० पुगेको छ, जसमा ५,८६० विदेशी विद्यार्थी (करिब १२ प्रतिशत) रहेका छन्। तिनमध्ये सबैभन्दा धेरै भारतका विद्यार्थी छन्—मात्र भारतबाट मात्रै हालसम्म ४,९७६ विद्यार्थी दीक्षित भएका छन्। साथै श्रीलङ्का (३९९), अमेरिका (८५), माल्दिभ्स (७५), जर्मनी (३३), बङ्गलादेश (२५), बेलायत (२१), क्यानाडा (२१), भुटान (२०), चीन (१९), जाम्बिया (१८), दक्षिण अफ्रिका (१४), पाकिस्तान (१३), अष्ट्रेलिया (१०) र रुस (१०) का विद्यार्थी पनि दीक्षित भइसकेका छन्।
हालसम्म काठमाडौँ विश्वविद्यालयले ५८ राष्ट्रका विद्यार्थीलाई विभिन्न तहमा दीक्षित गराइसकेको उपकुलपति वाग्लेले जानकारी दिए ।