काठमाडौँ। हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मङ्गलबार सूचना जारी गर्दै हेटौंडास्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.सँग भएको ठेक्का सम्झौता औपचारिक रूपमा तोडिएको जानकारी दिएको हो।
उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा करसहित ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो, जसअनुसार सडक स्तरोन्नति २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, तीन वर्षे समयसीमा हुँदा पनि निर्माण प्रगति करिब २५ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ।
सडकका केही भाग ४ लेन र केही ६ लेनमा स्तरोन्नति गर्ने प्रावधान ठेक्कामा समावेश थियो।
दुई पटक म्याद थप, अन्त्यमा काम ठप्प
योजनाअनुसार काम अघि नबढेपछि ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिँदै आएको थियो। तर अन्तिम पटक जेठमा थपिएको म्याद पनि सकिँदा प्रगति सन्तोषजनक नदेखिएपछि कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो।
पटक–पटक ताकेता गर्दा पनि प्रतिबद्धताअनुसार काम नगरेको र निर्माण स्थलसमेत ठप्प बनाएको कारण ठेक्का तोडिएको कार्यालयले स्पष्ट गरेको छ।
ठेक्का रद्दसँगै कम्पनीले राखेको चार करोड १९ लाख रुपैयाँ कार्य सम्पादन जमानत र नौ करोड ६७ लाख रुपैयाँ पेश्की रकम जफतका लागि सम्बन्धित बैंकमा पत्राचार गरिसकिएको कार्यालय प्रमुख युवराज पोखरेलले जानकारी दिए।
पेश्की रकम १० प्रतिशत व्याजसहित असुल गरिनेछ।
