शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मंगलबार गणेशको पूजा 

मंगलबार, मंसिर २३ २०८२

काठमाडौं। हिन्दू धर्मशास्त्र अनुसार मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा विशेष फल प्राप्त हुने मान्यता छ। कुनै पनि शुभ कार्यको प्रारम्भमा ‘विघ्नहर्ता’ भगवान गणेशको पूजा गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ। मंगलबारलाई गणेशको प्रिय दिन मानिने भएकाले यस दिन गरिएको पूजा र व्रत विशेष फलदायी मानिन्छ।

धार्मिक विश्वास अनुसार मंगलबार शुद्ध मनले गणेशको पूजा तथा आराधना गरेमा सुख, शान्ति र समृद्धिको प्राप्ति हुन्छ। यसदिन व्रत बसेर मनोकामना राखी पूजा गर्नेहरूले इच्छा सिद्ध हुने जनविश्वास रहिआएको छ।

१६ विधिबाट सम्पन्न हुन्छ गणेश पूजा

शास्त्रअनुसार गणेशपूजा १६ विधिबाट सम्पन्न गरिन्छ। ती विधिहरू यसप्रकार छन्—
आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, द्रव्य–दक्षिणा, आरती र परिक्रमा।
पूजा प्रारम्भ गर्नु अघि शुद्ध र एकाग्र मनले संकल्प लिनु आवश्यक मानिन्छ।

गणेशको विशेष महिमा

भगवान गणेशलाई बुद्धि, ज्ञान र सफलता प्रदान गर्ने देवता मानिन्छ। प्रत्येक पवित्र कार्य गर्नुअघि उहाँको पूजा गर्नु शुभ मानिन्छ। गणेश चतुर्थीमा उनी प्रायः एक्लै पूजित हुन्छन् भने दुर्गा पूजामा देवी दुर्गा, भगवान शिव, कार्तिकेय, लक्ष्मी र सरस्वतीसहित सम्पूर्ण परिवारको पूजा गर्ने परम्परा रहेको छ।

किन भनिन्छ ‘एकदन्त’?

भगवान गणेशलाई ‘एकदन्त’ अर्थात् ‘एक दाँते’ भनेर पनि सम्बोधन गरिन्छ। ब्रह्मवर्त पुराण अनुसार यसको रोचक इतिहास छ। एक पटक ऋषि परशुराम भगवान शिवलाई भेट्न कैलाश पुगेका थिए। शिव ध्यानमा मग्न भएकाले गणेशले परशुरामलाई रोकिदिए।

यसरी रोकिएका परशुराम क्रोधित भए र शिवले नै दिएको परशु (बञ्चरो) प्रयोग गरेर गणेशमाथि प्रहार गरे। पिताद्वारा प्रदान गरिएको हतियारको सम्मान गर्दै गणेशले प्रतिरोध गरेनन्। परशुरामको प्रहारले उहाँको एउटा दाँत भाँचियो। त्यसपछि उनी ‘एकदन्त’का नामले प्रसिद्घ भए।