काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ।
प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ११ जना निवर्तमान सांसदहरूले आइतबार सर्वोच्च पुगेर रिट पेस गरेका हुन्।
घिमिरेका अनुसार उनीहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापना र त्यससँग सम्बन्धित संवैधानिक व्याख्याका लागि रिट दायर गरेका हुन्।
“हामीले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर आज रिट दिएका हौं,” उनले बताए। रिट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत सांसदहरूको हस्ताक्षरसहित पेस गरिएको हो।
सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट पेस भइसके पनि अझै दर्ता प्रक्रिया पूरा नभएको जानकारी दिए। “अध्ययनको क्रममा छ, दर्ता भएको छैन,” उनले स्पष्टीकरण दिए।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच शुक्रबार महाराजगञ्जमा भेटवार्ता भएको थियो। प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै एमालेले पनि यसअघि नै सर्वोच्चमा रिट दर्ता गरिसकेको छ।