शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेसमा नयाँ सरकार गठनमा आ-आफ्नै दाउ, अन्तिम चरणमा पनि सहमति जुटेन

शुक्रबार, मंसिर १९ २०८२

धनुषा। मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलीय बैठक बसे पनि अन्तिमसम्म सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन रूपमा टुंगिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्री पदको दाबी नछोडेपछि राजनीतिक दलहरूबीच सहमति बन्न नसकेको हो।

जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसदहरूको सहभागिता थियो। बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका नेता जितेन्द्र सोनल मन्त्रीमण्डलको नेतृत्वका प्रमुख दाबेदारका रूपमा चर्चामा रहे।

कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य दलहरूले पहिले नेतृत्व गरिसकेको भएकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको धारणा राखे भने लोसपाका सोनलले आफूलाई विश्वासको मत नदिलाएको राजनीतिक चलखेललाई कारण ठहराउँदै फेरि अवसर दिनुपर्ने माग गरे। जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले दलहरूबीच औपचारिक सहमति नबनेको र पाँच वर्षमा पाँच मुख्यमन्त्री बनाउँदा प्रदेशमा नकारात्मक सन्देश जाने भन्दै सातै दल एकताबद्ध हुनुपर्ने बताए।

लोसपाकी सांसद रानी शर्मा तिवारीले विश्वासको मत नपाएर ढलेको सरकारको निरन्तरताबाटै नयाँ सत्ता समीकरण सुरु हुनुपर्ने भनाइ राखिन्। दलहरूबीच गहिरो मतभेदकै कारण बैठक निष्कर्ष ननिस्कँदै सकिएको बताइँदैछ। जसपा नेपालका प्रमुख सचेतक यादवका अनुसार कांग्रेस र लोसपालाई छुट्टै छलफल गर्न समय दिइएको र आजै अबेर राति सात दलहरू फेरि बैठक बस्ने तयारी छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम शुक्रबार साँझ ५ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न समय निर्धारण गरेका छन्। यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा राजीनामा दिएका थिए, जसपछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको हो।