जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रियामा ७ दलीय गठबन्धनले दाबी पेश गर्ने तयारी पूरा गरेको छ। हिजो साँझ एमालेबाहेकका दलहरूको लामो छलफलपछि लगभग सहमति बनेको नेताहरूले जनाएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एस) र नाउपाले संयुक्त रूपमा गठबन्धन बनाएर नया सरकार गठनको पहल अघि बढाएका छन्। प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वानको समय सीमा आजसम्म रहेकाले गठबन्धन एमालेभन्दा अघि दाबी पेश गर्ने तयारीमा छ।
गठबन्धनभित्र मुख्यमन्त्रीका प्रमुख दाबेदार कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका नेता जितेन्द्र सोनल रहेका छन्। यसैबीच, एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सभामुख पद पनि रिक्त बनेको छ, जसपा नेपाल उक्त पद लिने प्रयासमा रहेको बताइएको छ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक पर्नेमा गठबन्धनसँग ७३ जना सांसद रहेकोले स्थिर सरकार गठनको सम्भावना बलियो देखिएको छ।