काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश संरचना तथा प्रत्यक्ष कार्यकारी प्रणालीका विषयमा जनमत संग्रहमा जान सरकारलाई आग्रह गरेका छन् ।
अन्तरिम सरकारसँग विभिन्न मागहरू राखिएको बताउँदै प्रसाईँले देशमा ‘लडाइँको विकल्प’ जनमत संग्रह नै भएको दाबी गरे। उनका अनुसार राष्ट्र बचाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने र जनताले नै ठोस फैसला गर्ने वातावरण बनाउन आवश्यक छ।
प्रसाईँले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि सो विषयमा भेटवार्ता भएको उल्लेख गर्दै, गृहमन्त्री मागप्रति “सकारात्मक” देखिएको बताए। आफ्ना मागहरू राष्ट्रविरोधी वा विखण्डनकारी नभएको दाबी गर्दै उहाँले माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको टिप्पणी गरे ।
माग पूरा नभए आन्दोलन अपरिहार्य हुने चेतावनी दिँदै प्रसाईँले भने,“चित्त नबुझेपछि आन्दोलन नै अन्तिम विकल्प हो। जेन–जीलाई टेकेर बनेको सरकारले त्यही जेन–जीहरूलाई थुनिरहेको छ। भ्रष्टाचारविरुद्ध कारबाही गर्न नसक्नु सरकार उल्टो बाटोमा हिँडेको संकेत हो।”
प्रसाईँले जेन–जी पक्षधरहरूलाई थुनिनु नहुने मत राख्दै २३ र २४ गतेका आन्दोलनकर्तामाथि दमन नगर्न सरकारलाई आग्रह पनि गरे।
राष्ट्रको हितको लागि सबैलाई साथ दिन पनि उनले आह्वान गरे।