शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अपाङ्गता समावेशी विकास र शासन रूपान्तरणमा सरकार प्रतिबद्धः प्रधानमन्त्री कार्की

बुधबार, मंसिर १७ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व, नेतृत्व र ऐक्यबद्धतालाई प्राथमिकतामा राखी समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने दृढ प्रतिवद्धता व्यक्त गरेकी छन् ।

अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था र अपाङ्गताको गम्भीरताका आधारमा सेवा तथा सुविधामा प्राथमिकता दिने नीति अवलम्बन गरिएको बताउँदै सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पारिन् ।

सन्देशमा उनले भौतिक, दृष्टिकोणजन्य, सञ्चार तथा कानुनी अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त, सहज र सम्मानजनक अवस्था निर्माण गर्नु आजको अत्यावश्यक आवश्यकता भएको उल्लेख गरेकी छन् ।

स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी तथा स्वरोजगार कार्यक्रमहरू तीनै तहका सरकारको एकीकृत प्रयासबाट प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले संविधान, अन्तरराष्ट्रिय सन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई समग्र रूपमा सुनिश्चित गरेको स्मरण गराइन् ।

यस दिवसले अपाङ्गता सम्बन्धी क्षेत्रमा क्रियाशील सरकारी–गैरसरकारी संस्था तथा सरोकारवालालाई अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा पनि उनले व्यक्त गरिन् ।