शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन हुन्न कि भन्ने शंका नगर्न गृहमन्त्री अर्यालकाे आग्रह

मंगलबार, मंसिर १६ २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कतै पनि शंका वा भ्रम नपरोस् भनी आह्वान गरेका छन् ।

धनगढीमा मंगलबार सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारको मुख्य दायित्व स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गरे। उनले हाल देशभर ४,५५२ कैदी फरार रहेको भए पनि तीमध्ये धेरै न्यून अपराधका रहेका र कुल ७२७ हातहतियार फिर्ता भइसकेको जानकारी दिए।

मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख लक्ष्य विधिको शासन, हस्तक्षेपमुखी प्रशासन अन्त्य र भ्रष्टाचारमाथि शून्य सहनशीलता रहेको बताए। उनले भाद्र २३ र २४ गतेको जेन-जी घटनापछि सुरक्षासम्बन्धी चुनौतीहरू आए पनि अब स्थिति सामान्य भएको र प्रशासन र सुरक्षा संयन्त्रले नियमित कामकाजमा प्रभावकारी रूपमा कार्य गरिरहेको उल्लेख गरे।

सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको भन्दै मन्त्री अर्यालले सबै राजनीतिक दल र नागरिकलाई समन्वय र सहकार्यका लागि आह्वान गरे। उनले भने, “देश बनाउने जिम्मेवारी सबैको हो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ र सरकारले यसलाई भयरहित, सुरक्षित र पारदर्शी वातावरणमा सम्पन्न गर्ने कटिबद्धता जनाएको छ।”