काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा भर्ती जस्ता दासत्वका आधुनिक रूपविरुद्ध जनचेतना जगाउनु यो दिवसको मुख्य उद्देश्य हो।
सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसङ्घ महासभाले मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरेपछि यही दिनलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइन्छ।
राष्ट्रसङ्घका तथ्यांकअनुसार हाल पनि विश्वभर ५ करोड मानिस आधुनिक दासत्वको जोखिममा रहेका छन्, जसमा बढी हिस्सा महिला तथा बालबालिकाको छ। उनीहरूलाई घरेलु कामदेखि निर्माण, कृषि, वस्त्र उद्योग र यौन शोषणसम्म विभिन्न किसिमका श्रम तथा आर्थिक शोषणमा लगाइने गरिएको पाइएको छ।
जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा संरचनागत असमानताका कारण केही समुदाय अझै पनि शोषणको उच्च जोखिममा रहेका छन्। विशेषगरी प्रवासी तथा असुरक्षित श्रमिकहरू बढी प्रभावित हुँदै आएका छन्।
अन्तरराष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व र आधुनिक शोषण अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउँदै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ।
तस्बिर सौजन्यः अन्तरराष्ट्रिय श्रम सङ्गठन