काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगका कर्मचारीलाई कम्मर कसेर लाग्न निर्देशन दिएका छन्।
सोमबार आयोगमा आयोजित कार्यक्रममा उनले समानुपातिक निर्वाचन प्रणाली जटिल भए पनि विगतका अनुभव भएका व्यक्तिहरूको सल्लाह लिएर काम गरे कठिनाइ नहुने बताउनुभयो। निर्वाचन प्रक्रिया सञ्चालन गर्दा कुनै झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न उनले आग्रह गरे।
आयुक्त भण्डारीले भने, “संवैधानिक व्यवस्था बमोजिम हाम्रो निर्वाचन प्रणाली दुई प्रकारको छ—प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली। समानुपातिक प्रणाली अन्तर्गत दलहरूले उम्मेदवारको लिस्ट पेश गर्छन् र अन्तिम नामावली तयार हुन्छ। विभिन्न वर्ग, समुदाय र क्षेत्रलाई प्रतिनिधित्व दिने हाम्रो संवैधानिक व्यवस्थालाई पालन गर्दै निर्वाचन सम्पन्न गरिन्छ। यस प्रक्रियामा अलिकति जटिलता देखिए पनि सूत्र र फर्मुलालाई ध्यानमा राखेर काम गरे कठिन छैन। कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस्।”
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ।