काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा पेस्की रकम दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै अन्य प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव, कृष्णप्रसाद तिमिल्सिना, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, सि. अहेव महेन्द्रप्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई समेत प्रतिवादी बनाएको हो।
स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनका लागि लिएको पेस्की रकम तोकिएको काम पूरा गरी फर्छ्यौट गर्नुपर्नेमा उनीहरूले सो कार्य नगरी दीर्घकालसम्म कागजात, बिल–भरपाई पेश नगरी रकम दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिवादीहरूले लिएको ४६ लाख ७ हजार ३ सय रुपैयाँ पेस्की अहिलेसम्म फर्छ्यौट नगरेकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।