शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गीता जयन्ती पर्व विविध धार्मिक कार्यक्रम सहित देशभर मनाइँदै

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ  । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पवित्र ग्रन्थ श्रीमद्भगवद्गीता प्रादुर्भाव भएको दिनको सम्मानमा आज देशभर गीता जयन्ती पर्व विभिन्न धार्मिक कार्यक्रमसहित मनाइँदै छ। गीता पाठपारायण, प्रवचन, धार्मिक सभादेखि जनचेतनामूलक कार्यक्रमसम्मका गतिविधि आयोजित छन्।

वैदिक ज्ञान भावी पुस्तामा संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले यो दिन विशेष रूपमा मनाइने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन महाभारत युद्धका अवसरमा भगवान् कृष्णले अर्जुनलाई कुरुक्षेत्रमा गीताको दिव्य ज्ञान सुनाएका थिए।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार १८ दिनको युद्ध सुरु हुनुअघि अर्जुन आफन्तविरुद्ध युद्ध गर्न दुविधामा परेपछि भगवान् कृष्णले सारथी बनेर उपदेशका रूपमा गीता सुनाएका थिए। उहाँका भनाइअनुसार, “त्यसबेलाका कौरवका ११ र पाण्डवका सात अक्षयौनी सेना थिए। अर्जुनको मनोबल दृढ बनाउन भगवान्ले गीता उपदेश दिनुभएको हो।”

वेदका धेरै शाखा समयक्रममा लोप हुँदै गएको वर्तमान अवस्थामा गीताको मूल शिक्षासमेत हराउन नदिने उद्देश्यले गीता जयन्ती विशेष महत्वका साथ मनाइने गरेको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए। अहिले चार वेदमध्ये धेरै शाखा हराइसके पनि गीताको ज्ञान सुरक्षित रहोस् भन्ने उद्देश्यले ११ वर्षदेखि मोक्षदा एकादशीका दिन गीता जयन्ती मनाउने गरिएको संस्थाले जनाएको छ।

स्वयम्भूस्थित गीता मन्दिरमा आज विशेष कार्यक्रम आयोजना हुँदैछ। विश्व हिन्दू महासङ्घ तथा यसको विभिन्न शाखाले पनि राजधानीमा गीता प्रवचन, पाठ तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेका छन्। देशभरका मन्दिर तथा आश्रमहरूमा भक्ति, ज्ञान र वैराग्य योगका शिक्षासहित गीता पाठ गरिँदै गीता जयन्ती मनाइनेछ।