काठमाडौं । पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा बढ्दै गएको बहस र आन्तरिक विवादका कारण बैठक निरन्तर स्थगित हुँदै आएको हो।
पछिल्ला छलफलहरूमा पुस महिनाको अन्तिम साताभित्र १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति बनेको नेताहरूले बताएका छन्। आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २६–२९ पुसलाई लक्षित गर्दै नियमित महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन्। बैठकअघि उनले सबै पक्षसँग अनौपचारिक परामर्श गर्ने बताइएको छ।
केन्द्रीय बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए। छलफलमा खड्काले पुस अन्तिम सातामा महाधिवेशन गर्ने प्रस्ताव ल्याउने स्पष्ट गरेका थिए।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मिति र प्रकृतिबारे एकमत नहुँदा निरन्तर लम्बिँदै आएको छ।