शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

युएईको ५४औँ राष्ट्रिय दिवस: उपराष्ट्रपति यादव विशेष स्वागत समारोहमा सहभागी

आइतबार, मंसिर १४ २०८२

काठमाडौँ  । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ काठमाडौँमा आयोजित विशेष स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीद्वारा आयोजित उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी उच्च अधिकारी, उद्योगपति, युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो।

समारोहमा राजदूत अल शाम्सीले युएई–नेपाल सम्बन्ध परस्पर सद्भाव, सम्मान र साझा हितका आधारमा मजबुत रहँदै आएको उल्लेख गरे । उनले जलवायु परिवर्तन, विश्व शान्ति र आतङ्कवादविरुद्धको लडाइँमा दुवै देश समान धारणा र सहकार्यमा रहेको बताए।

भूकम्प, कोभिड–१९ महामारी र बाढीपहिरोजस्ता विपत्तिको बेला युएईले नेपाललाई निरन्तर सहयोग गर्दै आएको राजदूतले स्मरण गरे। युएईमा कार्यरत नेपालीहरूले दुवै मुलुकको आर्थिक विकासमा पुर्‍याएको योगदान उच्च रहेको उल्लेख गर्दै उनले नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार र मानव संसाधन विकासका क्षेत्रमा नेपाललाई सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।