शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पाँच बुँदे ज्ञापनपत्र, सर्वपक्षीय सम्मेलनको माग

आइतबार, मंसिर १४ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

शनिबार प्रधानमन्त्रीसँग भेट गरेका अध्यक्ष लिङदेन र उनकी टोलीले राजा, राजनीतिक दल तथा जेनजी पक्षधरहरू सहितको सर्वपक्षीय सम्मेलनमार्फत देशलाई स्थायी राजनीतिक निकास दिनुपर्ने माग प्रस्तुत गरेका हुन् ।

राप्रपाले भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी विद्रोह र त्यसपछिको परिस्थितिबाट बनेको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचनलाई २०८२ सालमै सञ्चालन गर्नका लागि मात्र बनेको होइन भन्ने स्पष्ट धारणा व्यक्त गर्दै आगामी फागुन २१ गते तय गरिएको आम निर्वाचनअघि नै सर्वपक्षीय सम्मेलन बोलाउन आग्रह गरेको छ ।

राप्रपाका पाँच बुँदे माग

१. आगामी निर्वाचनपूर्व नै मुलुकका समस्याको दिगो समाधानका लागि राजा, राजनीतिक दल र जेनजी पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजना गरी देशलाई स्थायी निकास दिनुपर्छ।
२. आगामी आम निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट समेत मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गरी त्यसपछि मात्र निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्छ।
३. जेनजी आन्दोलनमा सहभागी भएको आधारमा विभिन्न स्थानमा भइरहेको गिरफ्तारी, मुद्दा दर्ता लगायतका गतिविधि तुरुन्त रोकिनुपर्छ।
४. जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग अविलम्ब सम्बोधन गर्नुपर्छ।
५. आफ्ना मागसहित प्रदर्शनरत तथा प्रधानमन्त्रीसँग भेट चाहने जेनजीहरु माथि भइरहेको दमन र उपेक्षा बन्द गरी संवाद र समन्वयमार्फत शान्त वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्छ।