काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठनपछिको पहिलो प्रदेशस्तरीय एकता सन्देश सभा शुक्रबार धनगढीमा आयोजना गर्न लागेको छ। पार्टी काठमाडौँ बाहिर यसरी सार्वजनिक रूपमा देखिन लागेको यो पहिलो अवसर हो।
नेता डा. भीम रावलका अनुसार बिहान साढे ११ बजे धनगढी चौराह र क्याम्पस चोकबाट जुलुससहित रंगशालातर्फ र्याली सुरु हुनेछ र दिउँसो साढे १२ बजे धनगढी रंगशालामा आमसभा हुने छ।
सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र डा. भीम रावलले सम्बोधन गर्नेछन्। वामदेव गौतम, झलनाथ खनाल लगायतका नेताहरूको पनि सहभागिता रहनेछ।
सहसंयोजक नेपालले सभा स्थलमा २० हजारभन्दा बढी कार्यकर्ता उपस्थित हुने दाबी गरेका छन्। यद्यपि नेकपा विभाजनपछि नेपाल र रावल समर्थक केही आउने अपेक्षा भए पनि, एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटीले नेकपामा नजाने निर्णय गरिसकेको छ।
पार्टीले अन्य प्रदेशहरूमा पनि सन्देश सभा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते, कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने तयारी छ।