काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संरचना ठूलो परिमार्जन गर्दै सदस्य संख्या घटाएर ६ मा सीमित गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाइएपछि अब सचिवालयमा केवल आवश्यक मानिएका पद मात्र रहनेछन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१)’ बमोजिम प्रधानमन्त्रीको सचिवालयमा अधिकतम ६६ जनाको दरबन्दी कायम भए पनि, मितव्ययितालाई प्राथमिकता दिँदै कार्कीले केवल २० जनाको सचिवालय बनाइरहेको र अब त्यसलाई झनै संक्षिप्त गर्दै ६ जनामा झारेको जनाइएको छ।
प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार सचिवालयमा रहने ६ जना पहिले नै नियुक्त भएका हुन्।
