शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, आगामी वर्षका गतिविधि र बजेट स्वीकृत

बिहिबार, मंसिर ११ २०८२

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक बुधबार श्रव्य–दृश्य माध्यमबाट सम्पन्न भएको छ।

बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा समितिका अध्यक्ष किरण शाक्यले सार्कलाई दक्षिण एसियाली मुलुकबीच संवाद, सहकार्य र साझा कदम चाल्न सक्षम प्रमुख क्षेत्रीय मञ्चका रूपमा व्याख्या गरे।

सार्क सचिवालयका अनुसार महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रम समितिको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए। उनले दक्षिण एसियाली जनताको साझा उन्नयनको उद्देश्यले स्थापित सार्कले सामूहिक प्रयत्नमार्फत अझ धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास पनि प्रकट गरे।

बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट, गतिविधि तथा वार्षिक कार्यतालिकाको समीक्षा गरी अन्तिम रूप प्रदान गरेको सचिवालयले जनाएको छ।

नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिवहरू, सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखहरू तथा सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो।