काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन सम्पर्कसमेत गर्न नचाहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्नका लागि प्रयत्न गर्दा उनको मोबाइल फोन ‘स्विच अफ’ रहेकाले संवाद हुन नसकेको समूहले जनाएको हो।
प्रधानमन्त्री सचिवालयमार्फत आफन्त तथा नातेदार नियुक्ति गरेको आरोप उठाउँदै भेट्न सिंहदरबार दक्षिण गेटसम्म पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश बनेर फर्किएका थिए।
जेन–जी अभियन्ता सुशील बुढाथोकीले प्रधानमन्त्री तथा गृहमन्त्री दुवै जनाको फोन अफ रहनु सरकारको संवादहीनताकाे संकेत भएको बताउँदै भने, “हामी बिहानैदेखि फोन गरिरहेका थियौँ, उठेन। सबै समूहसँग भेट्नुपर्ने नेतृप्रधानमन्त्रीकाे दायित्व हुँदाहुँदै हामीलाई नै ‘कल अफ’ गर्नु दुःखद छ।”
भेट नपाएपछि ज्ञापनपत्र भित्तामा टाँसेर फर्किए
ढुंगाना समूहले सुशासनमा प्रधानमन्त्री कार्की असफल भएको दाबी गर्दै राजीनामा मागसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो। तर सम्पर्क नै नहुने स्थिति बनेपछि उनीहरूले उक्त ज्ञापनपत्र सिंहदरबार दक्षिण गेटको भित्तामा टाँसेर फर्किएको बताएको छ।
अभियन्ता बुढाथोकीले प्रधानमन्त्रीले आफूहरूलाई भेट्न नचाहनुको कारण स्पष्ट पार्न आग्रह गर्दै भविष्यमा संवाद अस्वीकार गर्ने प्रवृत्तिले आन्दोलनलाई झन् चर्काउन सक्ने चेतावनी दिए।