काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा गरिएको नियुक्ति सम्बन्धी समाचारहरू चर्चामा आएपछि प्रधानमन्त्रीको सचिवालयले स्पष्टिकरणसहित विज्ञप्ति जारी गरेको छ। प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नो श्रीमतीसहितलाई सचिवालयमा नियुक्त गराएको भनी आएका प्रश्नहरूको पृष्ठभूमिमा सचिवालयले यस्तो स्पष्टोक्ति दिएको हो।
प्रेस संयोजक रामबहादुर रावलले सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले आफूले भरोसा गर्न सक्ने विश्वासिलो व्यक्तिलाई प्रमुख स्वकीय सचिवका रूपमा नियुक्त गरेको उल्लेख छ। राज्यकोषमा न्यूनतम भार पर्न जाओस् र काम छरितो तथा प्रभावकारी रूपमा अघि बढोस् भन्ने उद्देश्यले सचिवालय न्यूनतम जनशक्तिबाट सञ्चालन गर्दै आएको पनि विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री कार्कीको परिवारमा श्रीमान् मात्रै रहेका छन् र दुवैको उच्च उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने, सुरक्षाका दृष्टिले विश्वासिलो तथा चौबीसै घण्टा साथमा रहेर काम गर्न सक्ने व्यक्तिलाई कानुनसम्मत रूपमा नियुक्त गरिएको हो। यसलाई अनावश्यक रूपमा राजनीतिक तथा सामाजिक कोणबाट व्याख्या नगर्न सचिवालयले अनुरोध गरेको छ।
सचिवालयले प्रमुख स्वकीय सचिवमाथि जातीय पृष्ठभूमि वा थर मिलेकै आधारमा नातेदार भएको जस्तो लाञ्छना लगाइएको भन्दै त्यस्ता प्रचारप्रति आपत्ति जनाएको छ।
विगतका सरकारले सचिवालयमा ६७ जनासम्म पदपूर्ति गर्दा कार्कीले अत्यावश्यक कामका लागि मात्रै २० जनाको न्यूनतम संरचनाबाट सचिवालय सञ्चालन गरेको उल्लेख गर्दै विज्ञप्तिमा अनावश्यक भ्रम फैलाउन नदिन आग्रह गरिएको छ।
