काठमाडौं । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा भाग लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस विज्ञप्तिमार्फत यो जानकारी गराएका हुन्।
महतका अनुसार जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थाको उचित समाधान निर्वाचन नै भएकाले काँग्रेस निर्वाचनमा सहभागी हुने निर्णयमा पुगेको हो। उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटनको विषय राजनीति मात्र नभई संवैधानिक मुद्दा पनि भएकाले यसको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने स्पष्ट पारे।
फागुन २१ गतेको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थालाई राजनीतिक संक्रमणबाट बाहिर निस्कने प्रमुख उपायका रूपमा काँग्रेसले व्याख्या गरेको छ। “संविधानको रक्षा र जेन–जी प्रदर्शनमार्फत उठाइएका आवाजलाई संस्थागत गर्दै देशलाई अघि बढाउन निर्वाचन नै सबैभन्दा उपयुक्त मार्ग हो,” महतले भने।
काँग्रेसले निष्पक्ष र सुरक्षित वातावरणमा मतदान हुनुपर्नेमा जोड दिँदै सरकारले वातावरण बनाउन आवश्यक पहल गर्नुपर्ने माग राखेको छ। हाल हजारौँ कैदीबन्दी जेलबाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नआउनु, दलगत कार्यक्रमहरूमा अवरोध हुनुजस्ता क्रियाकलापले निर्वाचन वातावरण बिग्रिएको काँग्रेसको भनाइ छ।