वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै कडा प्रहार
काठमाडौं । नेकपा एमालेले शनिबार राजधानी काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरेको छ। भदौ २३ र २४ गतेका विरोध आन्दोलनपछि पार्टीले वडा, पालिका र जिल्लास्तरीय प्रदर्शन पार गर्दै राजधानीमा पहिलोपटक शक्ति प्रदर्शन गरेको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म संघर्ष गर्ने घोषणा गरिसकेको एमालेले काठमाडौंको सडकमा सयौँ नेता–कार्यकर्तासहित उपस्थिति जनायो।
भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई उत्तेजित पार्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिए। “एमालेलाई जिस्क्याउने, उक्साउने काम नगर्नुस्। लोकतन्त्रमाथि अतिरिक्त आक्रमण हुन्छ भन्ने भ्रम पाल्नुभएको छ भने यसले कसैका लागि हितकर हुँदैन,” ओलीले भने।
सरकार ‘असंवैधानिक’ बाटोबाट आएको दाबी
ओलीका अनुसार अहिलेको सरकार असंवैधानिक प्रक्रियाबाट बनेको भएकाले एमाले संविधानसम्मत बाटोबाट नयाँ सरकार गठन गर्नतिर लागिरहेको छ। उनले सरकारलाई लोकतान्त्रिक बाटोमा फर्किन आग्रह गर्नुका साथै अन्य सबै दललाई पनि संविधान र लोकतन्त्र प्रतिकको संरक्षणका लागि एक ठाउँमा उभिन अपिल गरे।
उनले भदौ २४ गतेका घटनालाई सरकारले महिमामण्डन गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रत्यक्ष रूपमा आलोचना गरे। “प्रधानमन्त्री भएको भन्दै आगजनी, तोडफोड, आतंकलाई सही ठहर गर्न मिल्दैन,” उनले भने।
बारा घटनालाई लिएर सरकारमाथि थप आरोप
एमाले अध्यक्ष ओलीले बारामा युवा संघको शान्तिपूर्ण सभामा अन्य दलका कार्यकर्ताले आक्रमण गरेको दाबी गरे। उनले सरकारले प्रहरीसँग मिलेर घटनालाई सामान्य पार्न खोजेको आरोप लगाउँदै बाराका प्रहरी प्रमुखलाई हेडक्वार्टर झिकाइएको विषय पनि उठाए। “एमालेमाथि आक्रमण हुन्छ, अनि प्रहरी प्रमुखलाई हटाएर ढाकछोप गरिन्छ—यो तमासा होइन?” ओलीले प्रश्न गरे।
उनका अनुसार वर्तमान सरकारलाई चुनाव गराउने नैतिक अधिकार छैन। “को हो तपाईं चुनाव गराउने? कसले दियो अधिकार?” उनको प्रश्न थियो।
सभामा महासचिव शंकर पोखरेलले देशमा प्रतिगमनको अवस्था आएको आरोप लगाउँदै प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको बताए। उनका अनुसार भदौ २३ र २४ गते ‘विध्वंश’ र ‘हिंसाका’ आधारमा गरिएका परिवर्तन जनताको हितमा होइन।
पोखरेलले मंसिर २७ गते हुने एमाले महाधिवेशनको उद्घाटनलाई ऐतिहासिक जनसमूहको उपस्थितिसहित भव्य बनाउने तयारी भइरहेको जानकारी पनि दिए।
एमाले बागमती प्रदेश कमिटीले “संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी” भन्ने नारासहित भृकुटीमण्डपमा जनसभा आयोजना गरेको थियो। रत्नपार्क–भद्रकाली सडक खण्डमै नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए।