शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुर्गा प्रसाईं नेतृत्वको अभियानले आन्दोलनका कार्यक्रम फिर्ता लियो

आइतबार, मंसिर ७ २०८२

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियान ले भोलि गर्ने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। शनिबार साँझ बालुवाटारमा सरकारसँग भएको वार्तापछि सो निर्णय गरिएको अभियानले जनाएको छ।

वार्तामा सहभागी हुन अभियानका प्रतिनिधि टोली साँझै प्रधानमन्त्री निवास पुगेका थिए। सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्दनारायण तिमिल्सिना लगायतको उपस्थितिमा विस्तृत छलफल भएको थियो।

प्रधानमन्त्री सचिवालयका अनुसार महाअभियानले राखेका २७ बुँदे मागबारे विस्तृत रूपमा कुराकानी गरिएको र वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै ती मुद्दाको समाधानका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ।

महाअभियानले मंसिर ७ गतेदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो। तर वार्ता सफल भएपछि ती सबै कार्यक्रम फिर्ता लिइएको हो।

वार्तामा अभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं सहभागी थिए।

यता, अभियानका प्रमुख दुर्गा प्रसाईं भने हाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा रहेका छन्।