काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो दिनप्रतिदिन तीव्र हुँदै गएको छ। शुक्रबार ११ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम शनिबार झर्दै ८.५ डिग्री सेल्सियस पुगेको थियो। आइतबार बिहान भने तापक्रम झन् घटेर ७.८ डिग्री सेल्सियस दर्ता भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनअनुसार उपत्यकाको हालको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको हो। आधिकारिक तथ्यांक भने बिहान ८ः४५ बजे सार्वजनिक हुनेछ, जसमा तापक्रम थप घट्न सक्ने सम्भावना रहेको उनले बताए।
अधिकारीका अनुसार राति आकाश बादल भएमा बिहानको न्यूनतम तापक्रम सामान्यतया अलि बढिरहन्छ। तर आकाश सफा रहेमा चिसो झनै बढ्दै तापक्रम तल झर्ने भएकाले बढी चिसो महसुस हुने गर्छ।
मौसम महाशाखाले काठमाडौँसहित देशभरका स्थानको दैनिक न्यूनतम तथा अधिकतम तापक्रम मापन गर्दै आएको छ। सामान्यतया न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। आगामी दिनहरूमा उपत्यकामा चिसो अझै बढ्ने महाशाखाले जनाएको छ।