शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले सचिवालय बैठक

महाधिवेशनका लागि व्यवस्थापन समिति गठन

प्रतिनिधि छनोट मापदण्डमा संशोधन

शुक्रबार, मंसिर ५ २०८२

 काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन सबै नेताकार्यकर्तालाई आह्वान गरेका छन्।

स्वस्थ आन्तरिक प्रतिष्पर्धा स्वीकार्य भए पनि विभाजन र अस्वस्थ प्रतिस्पर्धा कुनै हालतमा सह्य नहुने चेतावनी उनले सचिवालय बैठकमा राखे। विगतमा माधवकुमार नेपाल र भीम रावलले पराजयपछि पार्टी छाडेजस्ता घटनाबाट शिक्षा लिनुपर्ने ओलीको भनाइ थियो।

विहीबारकाे  बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले आफू विगतमा पराजित भएर पनि पार्टीमा टिकिरहेकामा जोड दिँदै सबैलाई संगठनभित्रै रहने भावना मजबुत बनाउन आग्रह गरेको जानकारी दिए। उनका अनुसार बैठकले वर्तमान सरकार चुनावको वातावरण बनाउन इच्छुक नरहेको, प्रतिपक्षमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै निषेधात्मक नीति अपनाएको आरोप लगायो। बाराको सिमरामा भएको घटना तथा पछिल्ला गतिविधिले सरकार चुनाव गराउने मनस्थितिमा नरहेको एमालेको निष्कर्ष बैठकमा प्रस्तुत गरिएको थियो।

ज्ञवालीले सरकार राजनीतिक दललाई कार्यक्रम गर्न नदिने, अनुमति रोकिने, नेतामाथि क्षेत्रहद लगाइने र स्वतन्त्र आवागमनमा समेत बाधा पुर्‍याउने जस्ता क्रियाकलाप बढ्दै गएको उल्लेख गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको सान्दर्भिकता अझ बढेको टिप्पणी गरे ।

काठमाडौं जनसभा र सुरक्षा चिन्ता

बैठकमा मंसिर ६ गते काठमाडौंमा आयोजना हुने जनसभा सम्बन्धी विस्तृत छलफल भएको थियो। सिमरामा भएको घटनालाई हेर्दा काठमाडौंमा पनि भड्काउने प्रयास हुनसक्ने आशंका भए पनि पार्टी सतर्क रहेको उपमहासचिव ज्ञवालीले बताए ।

महाधिवेशनका लागि व्यवस्थापन समिति गठन

पार्टी सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि विभिन्न व्यवस्थापन समितिहरू पनि गठन गरेको छ।

प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास, खाद्य, यातायात, अतिथि सत्कार, प्रचार, स्वयंसेवक, मञ्च, स्वास्थ्य, आर्थिक तथा चुनाव संयोजनलगायतका समितिका संयोजक र सचिव तोकिएका छन्। सचिवालय समितिको संयोजन शंकर पोखरेलले गर्नेछन् भने निर्वाचन संयोजन समितिको नेतृत्व डा. विजय सुब्बाले गर्नेछन्।

प्रतिनिधि छनोट मापदण्डमा संशोधन

महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी मापदण्डमा केही महत्त्वपूर्ण संशोधन गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

  • ‘घर फर्क अभियान’अन्तर्गत पार्टीमा फर्किएका वामपन्थी नेता—कार्यकर्तालाई विशेष महाधिवेशन प्रतिनिधि बनाइने।

  • काठमाडौं उपत्यका विशेष प्रदेश तथा सम्पर्क समन्वयका ११ विशेष जिल्ला कमिटीहरूमा १,२०० भन्दा कम सदस्य रहेको कमिटीलाई ४० वर्षमुनिको एक अतिरिक्त युवा प्रतिनिधि दिने व्यवस्था।

  • प्रतिनिधि चयनमा थ्रेसहोल्डको शेषले ५० प्रतिशतभन्दा बढी प्राप्त भएमा एक प्रतिनिधि थप पाउने व्यवस्था।

  • प्रवासी नेपाली संघ (भारत) र प्रवासी नेपाली मञ्च (अन्तर्राष्ट्रिय) बाट समान पाँच–पाँच जना प्रतिनिधि चयन गर्ने, जसमा दुई महिला र तीन खुला कोटाका हुने।

ज्ञवालीका अनुसार संशोधनहरूले महाधिवेशनलाई थप समावेशी, युवामैत्री र फर्किएका नेताप्रति सम्मानजनक बनाउन भूमिका खेलेका छन्।