काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक दलहरूप्रति निष्पक्ष नभएको आरोप लगाएका छन्।
बुधवार प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको नियत दलहरूप्रति ठीक नभएको दाबी गरेका हुन्।
ज्ञवालीले सरकारले दलहरूको नियमित गतिविधिमा अवरोध सिर्जना गर्दै परीक्षण गरिरहेको आरोपसमेत लगाए। उनले प्रधानमन्त्रीले बोलाएकै कारण छलफलमा सहभागी भएको बताउँदै पनि वर्तमान सरकारलाई असंवैधानिक ठहर गरे।
“सरकारले बोलायो, हामी आयौँ। तर यो संविधानअनुसार बनेको सरकार होइन। प्रतिनिधि सभालाई कुनै हालतमा संवैधानिक भन्न मिल्दैन। हामीले यही कुरा प्रधानमन्त्रीलाई राख्यौँ। तर मन नपर्नेहरूलाई भड्काउपूर्ण रूपमा हेर्ने हो भने हामी पूर्वनियत कार्यक्रमअनुसार अघि बढ्छौँ।” उनले भने ।
ज्ञवालीका अनुसार सरकारले दलहरूलाई कति चुनौती दिन सकिन्छ र शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने परीक्षण गरिरहेको छ। “यदि सरकारको यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो, दलहरूले आफ्ना नियमित गतिविधि र छलफलसमेत गर्न नपाउने अवस्था बन्ला,” उनले भने।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनबारे दलहरूबीच छलफल चलाइरहेका बेला एमाले प्रतिनिधिहरू भने बैठक नसकिँदै बाहिरिएका थिए ।