शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिमरा जान रोकिएपछि महेश बस्नेत भने– ‘जेनजी’ नाममा दलहरूबाट अराजक भिड परिचालन

बुधबार, मंसिर ३ २०८२

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले हालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्।

महासचिव शंकर पोखरेलसहित पार्टीको टोली राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभाका लागि बाराको सिमरा जाँदै गर्दा ‘जेन–जेड’ युवाहरू आन्दोलित भई एअरपोर्ट क्षेत्रमा अवरोध सिर्जना भएको घटना प्रति बस्नेतले कडा आपत्ति जनाए।

उनका अनुसार विभिन्न दल–आवद्ध अराजक भिड उतारी योजनाबद्ध रूपमा आन्दोलन गराइएको र करिब ५०–६० जनामात्र संलग्न सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु सरकारको “नैतिक पराजय” को संकेत हो।

बस्नेतले सरकारद्वारा सभा–सम्मेलन गर्ने र स्वतन्त्र विचार राख्ने जस्ता संवैधानिक अधिकारमाथि हस्तक्षेप हुनु लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भएको बताए। उनले भने, “फागुन २१ मा चुनाव गराउँछु भन्ने दाबी गर्ने सरकारले दलगत गतिविधि नै रोक्ने प्रयास गर्नु हास्यास्पद देखिन्छ।”

सरकारलाई “कठपुतली सरकार” भन्दै बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको निरन्तर अवमूल्यन भइरहेको टिप्पणी गरे।

उनका अनुसार जनताले सबै कुरा बुझिसकेकाले एमाले यस्ता अवरोधबाट विचलित नहुने र लोकतन्त्र तथा सुशासनको पक्षमा संघर्ष जारी राख्नेछ।