शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेप्से पुनर्संरचना समिति गठनसहित यी हुन् मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरू

बुधबार, मंसिर ३ २०८२

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई तत्काल राहतस्वरूप जनही १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि घाइतेको संख्या २ हजार ४२९ रहेको पुष्टि गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राहत रकम वितरण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वेद्वारा प्रदान गरिने करीब ५ मिलियन अमेरिकी डलर र स्वीस सरकारद्वारा उपलब्ध २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यसैगरी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना आवश्यक रहेको ठहर गर्दै अध्ययन तथा सुझावका लागि ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको छ । समितिको संयोजक प्रकाशजंग केसी रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको छ । यसका लागि अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा आवश्यक हेरफेर गरिनेछ ।

बैठकले शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।