शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेस प्रदेशका ७४ सांसदको रिट न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासमा

मंगलबार, मंसिर २ २०८२

काठमाडौं । मधेस प्रदेश मुख्यमन्त्रीको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदको वारेसमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसीमा परेको छ।

सोमबार  न्यायाधीश डा. हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा उक्त रिट बहसका लागि पर्याप्त समय नभएको कारण अग्राधिकारसहित आजको पेसी तोकिएको थियो। निवेदक पक्षले पनि बहसका लागि पर्याप्त समय नहुने भन्दै पेसी सार्न अनुरोध गरेको थियो।

मधेस प्रदेश प्रमुखको जवाफ महान्यायाधिवक्तामार्फत पेश गर्नुपर्ने आदेशमा त्रुटि देखिएपछि आइतबार पेसी सारिएको थियो। इजलासले प्रमुख कार्यालयलाई जवाफ पेश गर्न र छलफलमा उपस्थित हुन आदेश दिएको छ।

यादवले नेपालको संविधानको धारा १६८(२) अनुसार नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिई राजीनामा दिएको र त्यसअनुसार पुनः आह्वान गर्नुपर्नेमा धारा १६८(३) अनुसार नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गर्नु असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेका थिए।

निवेदक पक्षले हालको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएकोले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि अन्तरिम आदेश माग गरेका छन्। यसअघि होटेलमा नियुक्ति लिएर शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी भइसकेको छ। रिटमा आदेश अनुसार यदि वर्तमान मुख्यमन्त्री कामचलाउ मानिन्छ भने नयाँ सरकार गठनको बाटो खुल्न सक्छ।