शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संवैधानिक परीक्षणमा जाने कि नजानेबारे छलफल गर्न एमाले विघटित संसदीय दल बैठक बस्दै

मंगलबार, मंसिर २ २०८२

काठमाडौं । नेकपा (एमाले) को विघटित संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।

एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूलाई समेट्दै संवैधानिक परीक्षण गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक बोलाएको हाे। बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय, च्यासलमा बस्नेछ।

निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूलाई दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा उपस्थित हुन आग्रह गरेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था र संसद पुनःस्थापनाबारे निर्देशनात्मक मन्तव्य दिने बर्तौलाले जानकारी दिए।

प्रतिनिधि सभा पुनःस्थापनाका लागि दबाबमूलक जनपरिचालन गर्ने निर्णय गरिसकेको एमालेले वडा, पालिका र जिल्ला तहमा प्रदर्शन सकेको छ।

तर संसद पुनःस्थापनाको मुद्दामा एमाले स्वयं अदालतमा नगएको र नेपाली कांग्रेससँग राजनीतिक साथ खोजिरहेको स्थिति छ। कांग्रेसले भने पुनःस्थापनामा नजाने निर्णय गरिसकेको छ।

सभामुखसँगको सोमबारको छलफलमा कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले पार्टीभित्रै मतबाझिएका कारण पुनःस्थापनाको पक्षमा नजाने निर्णय रहेको बताएका थिए।

यी सबै परिस्थितीबीच एमालेको आगामी रणनीति के हुने भन्ने विषयमा आजको संसदीय दल बैठकले स्पष्ट दिशा तय गर्ने नेताहरूको भनाइ छ।